काठमाडौं । नवगठित प्रतिनिधिसभाले बिहीबार सभामुख पाउने भएको छ । सभामुखका लागि सत्ता गठबन्धनका तर्फबाट एमाले नेता देवराज घिमिरे र विपक्षी गठबन्धनका तर्फबाट कांग्रेस सांसद ईश्वरी न्यौपानेले संसद् सचिवालयमा बुधबार उम्मेदवारी दर्ता गराएका छन् ।

एमाले सांसद देवराज घिमिरेको प्रस्तावकमा सुवास नेम्वाङ बसेका छन् भने समर्थकमा माओवादीका हितराज पाण्डे, राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछाने र राष्ट्रिय प्रजातन्त्र पार्टीका राजेन्द्र लिङदेन छन् । एमालेसहित सत्ता गठबन्धनका नेताहरुले दिउँसो १ बजेर ५ मिनेट जाँदा घिमिरेको उम्मदेवारी दर्ता गराएका हुन् ।
झापाको अर्जुनधारा नगरपालिका ६ मा २०१३ जेठ १३ गते जन्मेका एमाले नेता देवराज झापा क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद हुन् । उनी नेकपा एमालेभित्र केपी ओलीका खरो विश्वासपात्रका रुपमा चिनिन्छिन् ।
ताप्लेजुङको सिरिजंघामा जन्मिएका ६६ वर्षीय घिमिरेको राजनीतिक यात्रा २०३२ सालबाट सुरु भएको हो। एमालेभित्र अन्तर विरोध र गुटगत राजनीतिमा सधैं अध्यक्ष ओलीकै पक्षमा खुल्दै आएका घिमिरेले २०३५ सालमा नेपाल कम्युनिस्ट पार्टीको सदस्यता प्राप्त गरेका हुन् । एमालेको पाँचौँ राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय सदस्य भएका उनी एमाले र माओवादी मिलेर बनेको नेकपामा प्रदेश १ का अध्यक्ष थिए । एमालेको दशौं महाधिवेशनपछि पार्टीको स्थायी समिति सदस्य बनेका घिमिरेको संसदीय राजनीति २०५६ सालमा राष्ट्रियसभाबाट अघि बढेको हो । घिमिरे २०५६ सालमा राष्ट्रिय सभाका सदस्य थिए ।
तत्कालीन महाकाली सन्धी प्रकरणमा एमालेभित्र तिव्र विवाद हुँदा अध्यक्ष मनमोहन अधिकारी मतदानमा सरिक नभएपछि उनका तर्फबाट भोट हालेर पक्षमा बहुमत पुर्याउने यिनै घिमिरे हुन् ।
सभामुख पदकी अर्की उम्मेदवार नेपाली कांग्रेसकी ईश्वरीदेवी न्यौपाने कैलालीबाट समानुपातिक सांसद हुन् । कैलालीको भजनीकी न्यौपानेले राजनीतिक यात्रा नेपाल विधार्थी संघ र पछि महिला संघ हुँदै अघि बढाएकी हुन् । २०५८ सालमा नेपाल महिला संघको अधिवेशनबाट केन्द्रीय सदस्य चुनिएकी उनले त्यही कार्यकालमा उपसभापतिको जिम्मेवारी सम्हालिन् । नेपाली कांग्रेसको १२ औं १३ औं र १४औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्य बनेकी न्यौपाने पहिलो संविधानसभामा सदस्य थिइन् । दोस्रो संविधानसभामा नेपाली कांग्रेसको सचेतक बनेकी उनी २०७४ सालको निर्वाचनमा प्रतिनिधि सभामा पराजित भइन् ।
प्रतिनिधिसभाको अंकगणित
सभामुखको निर्वाचनमा २७५ सदस्यले मतदान गर्छन् । यसमध्ये सभाध्यक्षको हैसियतमा ज्येष्ठ सदस्य पशुपति समशेर जबराले मतदान गर्दैनन् भने कांग्रेस टेकबहादुर गुरुङ निलम्बनमा परेकाले मतदान गर्न पाउँदैनन् । महोत्तरीका एमाले सांसद लक्ष्मी महतो कोइरी प्रहरीको खोजी सूचीमा रहे पनि मतदान गर्न पाउँछन् । माओवादी सांसद वर्षमान पुनः अस्पताल भर्ना भएकाले मतदान गर्न सक्ने अवस्थामा छैनन् । यो आधारमा विश्लेषण गर्दा सत्ता गठबन्धनको तर्फबाट दुई मत कम पर्ने सम्भावना छ भने विपक्षमा एक भोट अयोग्य छ । बाँकी २७२ मत सभामुखमा खस्न सक्छ, जसबाट बहुमत अर्थात् १३७ मत प्राप्त गर्ने व्यक्ति सभामुखमा विजयी हुन्छ ।
अहिलेको अंकगणितलाई हेर्दा सत्तापक्षसँग सुविधाजनक बहुमत छ । जस्तो- एमालेको ७९, माओवादीको ३२, राष्ट्रिय स्वतन्त्र पार्टीको २० र राप्रपाको १४ मत जोड्दा एमाले उम्मेदवार देवराजले १४५ मत पाउने देखिन्छ । यसमा सत्ता गठबन्धन घटकमध्ये १२ सिट रहेको जनता समाजवादी, ६ सिटको जनमत पार्टी र ४ सिटको नागरिक उन्मुक्ति पार्टीले पनि एमाले उम्मेदवारलाई नै मतदान गरेमा २२ सिट थपिन गई देवराजका पक्षमा १६७ सिट पर्न जान्छ । तर, यी दलहरु मन्त्रिपरिषद गठनमा असन्तुष्ट देखिएकाले सभामुखको चुनावमा प्रस्टसँग खुलिसकेका छैनन् ।
कांग्रेसतर्फको मतको अवस्था हेर्दा ईश्वरी न्यौपानेले आफ्नो पार्टीका ८९ मध्ये टेकबहादुर गुरुङबाहेक ८८ मत पाउनेछिन् । यसमा एकीकृत समाजवादीको १० भोट थप्दा ९८ हुनेछ भने यसमा लोसपाका ४ सांसद थप्दा १०२ पुग्छ ।
एक-एक सिट रहेका जनमोर्चा र नेमकिपा विपक्षमै रहेकाले उनीहरुले या त चुनाव बहिस्कार गर्नेछन्, या कांग्रेसलाई नै मत दिनेछन् । त्यस्तै स्वतन्त्र सांसदसँग तीन मत छ । प्रभु साह, अमरेशकुमार सिंह र योगेन्द्र मण्डलले कसलाई भोट दिन्छन्, खुलिसकेको छैन ।
मन्त्रीमा नसमेटिएका उनीहरुले कांग्रेसलाई मत दिए भने यी सबै मत जोड्दा कांग्रेसको भागमा १०७ पुग्छ । जसपा, नागरिक उन्मुक्ति र जनमतको २२ सिट थप्दा पनि बहुमत पुग्दैन । अन्यथा, सत्तारुढ गठबन्धनबाटै सभामुख चयन हुने सम्भावना नै बढी देखिन्छ । सत्ता पक्षबाटै फ्लोर क्रस नभएसम्म साना दलको मात्रै सहाराले कांग्रेसले जित्ने सम्भावना देखिँदैन ।
तर, गणितले साथ नदिए पनि कांग्रेस उम्मेदवार न्यौपाने आफूले सभामुखको चुनाव जित्ने दाबी गर्छिन् । उनी भन्छिन्, ‘निर्वाचनमा जाँदै गर्दा म हार्छु भनेर कोही पनि जाँदैन । मैले पनि निर्वाचन जित्छु भनेर सुनिश्चितताका साथ लागिरहेकी छु । माननीय सांसदहरुले दिनुभएको मत मेरो जित्ने आधार हो ।’
सभामुखमा त्रिकोणात्मक संघर्ष
राज्य सञ्चालनमा महत्वूपर्ण मानिने राष्ट्रपति र सभामुख पदका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच त्रिकोणात्मक संघर्षको स्थिति देखा परेको छ । कांग्रेस सभापति देउवा राष्ट्रपति आफ्नो दलले लिने मौकाको खोजीमा छन् भने प्रधानमन्त्री दाहाल सभामुख र राष्ट्रपतिमध्ये एउटा पद नेपाली कांग्रेसलाई दिन सहमत छन् । उच्चस्तरीय राजनीतिक संयन्त्रका अध्यक्षसमेत रहेका ओली दुवै पद एमालेले नै पाउनुपर्ने अडानमा छन् ।
ओलीनिवास बालकोटमा पुष्पकमल दाहाललाई प्रधानमन्त्रीमा समर्थन जनाएकै दिन पुस १० गते माओवादीले प्रधानमन्त्री पाएपछि राष्ट्रपति एमालेले पाउने र सभामुखमा भने दुई दलबीच आलोपालो गर्ने बालकोटमा सहमति भएको एमालेको दाबी छ ।
राष्ट्रपति र सभामुख एमालेलाई दिने गरी बालकोटमा सहमति जुटेको दाबीलाई माओवादी नेताहरुले पनि अस्वीकार गरेका छैनन् । तर, कांग्रेसले सरकारलाई विश्वासको मत दिइसकेपछि पुस १० को परिस्थिति फेरिएको र कांग्रेसलाई पनि विश्वासमा लिनुपर्ने दायित्व प्रधानमन्त्रीमा सिर्जना भएको माओवादी नेताहरुको जिकिर छ ।
मंगलबार साँझ प्रधानमन्त्री निवासमा कांग्रेसहितको सर्वदलीय बैठक बस्यो । तर, यो बैठकमा ओलीले दाहाललाई पुस १० को सहमति सम्झाए भने दाहालले विश्वासको मत पाइसकेपछि पहिलेको स्थिति फेरिएको भन्दै कांग्रेसलाई समेट्नुपर्ने अडान दोहोर्याए । यही त्रिकोणात्मक संघर्षकै स्थितिमा भोलि सभामुखको चुनाव हुन लागेको छ ।
प्रधानमन्त्री दाहालले कांग्रेसलाई विश्वासमा लिने प्रयास गरे पनि सत्ता साझेदार एमाले भने बालकोटको सहमतिलाई देखाउँदै दाहालको ईच्छा पूरा हुन दिने पक्षमा देखिँदैन । त्यसैले यो त्रिकोणात्मक द्वन्द्वको स्थिति आगामी राष्ट्रपतिको निर्वाचनसम्मै लम्बिने देखिन्छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !